वीरगंज, २७ असोज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्र (सीएलसी) को संस्थागत सुदृढीकरण, प्रभावकारी सञ्चालन तथा कार्यविधिसम्बन्धी पैरवी एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड ९(पिन), एकाउन्टबिलिटी ल्याब नेपाल, एनसिई नेपाल र नेपाल अपाङ्ग महिला संघको सहकार्यमा दिब्य विकास स्रोत केन्द्र (डिडिआरसी), पर्साद्वारा सञ्चालित ‘पहुँच’ परियोजनाअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो।
दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी प्रमुख अतिथि र उपाध्यक्ष ममता महतो विशिष्ट अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी वडा नं. १ का अध्यक्ष फारमान अंसारी, वडा नं. ३ का अध्यक्ष माधो चौधरी, वडा नं. ४ का अध्यक्ष बासु पंजियार, शिक्षा र महिला तथा बालबालिका शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि तथा अन्य सरोकारवालासहित १८ जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको आवश्यकता, यसको संस्थागत सबलीकरण र स्थानीय तहको भूमिकाबारे गहन छलफल हुनुका साथै केन्द्रलाई व्यवस्थित एवम् दिगो रूपमा सञ्चालन गर्न आवश्यक कार्यविधि निर्माण र कार्यान्वयनबारे अभिमुखीकरण गराइएको थियो। सो कार्यक्रमको सहजीकरण तथा समन्वय एकाउन्टबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश कुमार साह र दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम जिम्मेवार अमित कुमार राउतले गरेका थिए ।
सो अवसरमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले सामुदायिक सिकाइ केन्द्रको संस्थागत विकासका लागि आवश्यक कार्यविधि गाउँ कार्यपालिकाको आगामी बैठकबाट स्वीकृत गराई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सामुदायिक सिकाइ केन्द्रको प्रभावकारी सञ्चालनले बालबालिका, महिला, युवा तथा शिक्षाबाट वञ्चित समुदायका सदस्यहरूलाई आजीवन सिकाइको अवधारणासँग जोड्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।




