spot_img

पटेर्वा सुगौलीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया, चाडपर्वको शुभकामना आदानप्रदान

spot_img
spot_img

वीरगंज,२७ असाेज । पर्साको पटेर्वा सुगौलीमा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको आयोजनामा प्रहरी कार्यालय परिसरमा एकदिने कार्यक्रम सम्पन्न भएको हो। प्रहरी निरीक्षक विपन कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी तथा विभिन्न राजनीतिक दलका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका वडा अध्यक्षहरू फरमान मियाँ अन्सारी र विजय गैरे, सखुवा प्रसौनीका वडा अध्यक्ष चिरञ्जीवी महतो तथा जिराभवानी गाउँपालिकाका वडा अध्यक्षहरू महादेव महतो र रामसरण खवास अतिथिका रूपमा सहभागी थिए। शिक्षक नेता हरिराज यादव, महेन्द्र चौधरी, मोतिलाल चौधरी, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रमोद यादवसहित स्थानीय पत्रकार तथा सरोकारवालाहरूको पनि उपस्थिति थियो।

अन्तरक्रियाका क्रममा स्थानीयवासी तथा जनप्रतिनिधिहरूले क्षेत्रको शान्ति सुरक्षा, अपराध नियन्त्रण र सीमा क्षेत्रमा हुने अवैध गतिविधिबारे प्रहरीको ध्यानाकर्षण गराएका थिए। उनीहरूले बिना हेल्मेट सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न, लागूऔषध सेवन तथा त्यसबाट उत्पन्न हुने चोरी, झैझगडा र महिला हिंसाजस्ता घटनामा प्रभावकारी कदम चाल्न आग्रह गरे।

त्यसैगरी, प्रहरीमा परेका निवेदनमाथि निष्पक्ष र शीघ्र छानबिन गर्न, राजनीतिक प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न, अबेर रातिसम्म सञ्चालन हुने मदिरा पसललाई नियमन गर्न तथा गाँजा, चरेस, काठ, गिट्टी–बालुवा र सीमापार हुने तस्करी नियन्त्रण गर्नुपर्ने सुझाव सहभागीहरूले दिएका थिए।

वास्तविक किसानको पहिचान गरी भारतबाट रासायनिक मल ल्याउन सहज वातावरण बनाउनुपर्ने, घरायसी उपभोगका सामानको आवागमनमा सहजीकरण गर्नुपर्ने र नागरिकको सहज पहुँचका लागि प्रहरीको सम्पर्क नम्बर २४ सै घण्टा उपलब्ध हुनुपर्ने मागसमेत उनीहरूले राखेका थिए।

कार्यक्रममा वडा अध्यक्ष फरमान मियाँ अन्सारी र विजय गैरेले गाउँपालिकामा शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न जनप्रतिनिधिका तर्फबाट प्रहरीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सहभागीका गुनासा तथा सुझाव सुनेपछि प्रहरी निरीक्षक विपन कार्कीले स्थानीय नागरिकसँग निरन्तर संवाद गर्ने र प्राप्त गुनासा सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए। उनले अवैध कारोबारमा संलग्न व्यक्तिसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पार्दै कानुन र तथ्यका आधारमा निष्पक्ष रूपमा काम गर्ने बताए।

चाडपर्वको समयमा मात्रै नभई अन्य दिनमा पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्रिय रहने उल्लेख गर्दै उनले प्रहरीको कामलाई प्रभावकारी बनाउन स्थानीयवासीको सहयोग आवश्यक रहेको बताए। साथै, उनले बडादसैँ, शुभदीपावली तथा छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गरे।

कार्यक्रममा वक्ताहरूले पनि चाडपर्वले समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्दै प्रहरी निरीक्षक कार्कीको सफल कार्यकालको शुभकामना दिएका थिए।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय