काठमाडौं,२९ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको मधेशी खुला पुरुषतर्फ अनिल रुंगटाले अग्रता कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन् । मिडिया सेन्टरले उपलब्ध गराएको विवरणअनुसार हालसम्म तीन हजार ९०० मत गणना भएको छ ।
यस प्रतिस्पर्धामा रामकृष्ण यादव एक हजार ७३८ मतसहित दोस्रो स्थानमा छन् भने डा. गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा रहेका छन् । यादव र ठाकुरबीच मात्र दुई मतको अन्तर देखिएको छ ।
त्यस्तै, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६ र अशर्फी साहले एक हजार ५१४ मत प्राप्त गरेका छन् । यसैगरी, अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत पाएका छन् ।
परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत प्राप्त गरेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्यमा मधेशी खुला पुरुषतर्फबाट तीन जना निर्वाचित हुने व्यवस्था छ । जारी मतगणनामा रुंगटाले अग्रता कायम राख्दा दोस्रो र तेस्रो स्थानका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।




