वीरगंज, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मुस्लिम कोटा (खुला र महिला) को मतगणना सम्पन्न भई विजयी उम्मेदवारहरूको नाम घोषणा गरिएको छ।
बीपी स्मृति भवन, सानेपामा सम्पन्न मतगणनाअनुसार खुलातर्फ ३ जना र महिलातर्फ २ जना गरी ५ जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
केन्द्रीय सदस्य (मुस्लिम खुला) तर्फ डा. अतावुल मंसुरी ३ हजार ३१७ मतका साथ पहिलो स्थान हासिल गर्दै विजयी भएका छन् । सोही पदमा १ हजार ८६३ मत ल्याएर मो. इरशाद अन्सारी र १ हजार ७७१ मत ल्याएर अब्दुल रज्जाक गद्दी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी केन्द्रीय सदस्य (मुस्लिम महिला) तर्फ सनम बेगम २ हजार ९१६ मत र जमिला खातुन २ हजार ८३५ मत प्राप्त गरी विजयी भएकी छन् ।
यस पदमा अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमध्ये खुलातर्फ ईश्तियाक अहमद खाँले १५४४, जमिल अख्तर आजादले १४५२, जमसेर अलिमियाले १२०३, छोटे मियाँ अन्सारीले ९२५, महम्मद जवारदिन मिया (मुन्ना) ले ८१५, आबेद हुसेनले ७२२, मो. मुकिम खानले ६९३, सहरम राउत गद्दीले ६७९, सलाउदिन मियाँले ६७५, सामुहम्मद मियाँले ६३०, रहमतुल्ला मियाँले ५६३ र मोहम्मद अकरमले ४५२ मत प्राप्त गरेका छन् ।
महिलातर्फ जमिला मियाँले १७९८, सकिना खातुनले १८२७, नजबुल खानले १४११, जन्नतुन निसा धुनियाले १०६३ र यासिबा रहमानले ६९८ मत ल्याएका छन् ।
यसैबिच, केन्द्रीय सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम ३ हजार ३४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अतहर कमाल मुसलमानले ५५७ र अब्दुल सत्तारले २७२७ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
रौतहट क्षेत्र नम्बर २ बाट संघीय सांसद जितेका डा. फिरदोश नेपाली कांग्रेसका प्रभावशाली नेता स्व. अफताब आलमका छोरा हुन् ।




