जलेश्वर, २९ असोज । नेपाल संघीय समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले सुशासन र समृद्धिका नाममा जनताको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितामाथि प्रहार गरिए सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
महोत्तरीको जलेश्वरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित पार्टीको जिल्ला कार्यकर्ता भेला तथा जिल्ला कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै अन्सारीले भदौ २३ गतेको जेनजी आन्दोलनलाई केवल ‘ट्रेलर’को संज्ञा दिए । उनले सुशासनको बहानामा नागरिक अधिकार खोस्ने वा संविधान पछाडि फर्काउने प्रयास गरिए त्योभन्दा ठूलो जनआन्दोलन उठ्ने दाबी गरे ।
अध्यक्ष अन्सारीले नेपाल राजनीतिक रूपमा अघि बढिसकेकाले अब पछाडि नफर्किने स्पष्ट पार्दै ‘गणतन्त्रको विकल्प राजतन्त्र नभई उन्नत गणतन्त्र’ भएको बताए । उत्पीडित तथा पछाडि पारिएका मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू र महिला समुदायको अधिकार सुनिश्चित गर्न बलियो राजनीतिक संगठन आवश्यक रहेको उनको भनाइ थियो।
संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिँदै पूर्व गृह राज्यमन्त्री अन्सारीले प्रहरी समायोजन लगायतका बाँकी काम तत्काल पूरा गर्न सरकारसँग माग गरे । साथै, उनले नवगठित महोत्तरी जिल्ला कमिटीलाई टोल–टोलसम्म पुगेर जनताका वास्तविक समस्या समाधानमा खटिन निर्देशनसमेत दिए ।




