वीरगंज, २९ असोज । बडा दसैँ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि नयाँ नोट वितरण कार्यलाई तीव्र बनाएको छ।
दसैँमा टीका र दक्षिणाका रूपमा नयाँ नोट प्रयोग गर्ने परम्परालाई ध्यानमा राख्दै राष्ट्र बैंकका काउन्टरहरूमार्फत प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले (एक÷एक सेट) नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ।
नयाँ नोट साट्न आउने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बैंकले काउन्टरहरूको संख्या थपेर वितरणलाई व्यवस्थित र छिटोछरितो बनाएको छ। राष्ट्र बैंक वीरगंजका प्रमुख सञ्जीव झाका अनुसार ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सहज र छिटो सेवा प्रदान गर्न नियमित काउन्टरका अतिरिक्त छुट्टै तीनवटा काउन्टर सञ्चालनमा ल्याइएको छ। काउन्टरको सुव्यवस्थित व्यवस्थापनका कारण सेवाग्राहीले २ देखि ३ मिनेटभित्रै सहज रूपमा नयाँ नोट प्राप्त गरिरहेका छन्।
यसैबिच, नयाँ नोट राष्ट्रको सम्पत्ति भएकाले यसलाई जतनपूर्वक प्रयोग गरी आयु लम्ब्याउन राष्ट्र बैंकले सर्वसाधारणमा अपिल गरेको छ। दसैँका अवसरमा हुने किनमेल र दैनिक कारोबारलाई सुरक्षित, सहज र पारदर्शी बनाउन सम्भव भएसम्म क्यूआर कोड, मोबाइल बैंकिङ लगायतका डिजिटल भुक्तानीका माध्यम प्रयोग गर्न प्रोत्साहित गरिएको छ।
डिजिटल भुक्तानी गर्दा आफ्नो गोप्य पिन, ओटीपी तथा पासवर्ड अरूलाई नदिन र कारोबार पूरा गर्नुअघि भुक्तानी विवरण पुष्टि गर्न राष्ट्र बैंकले सचेत गराएको छ। गत वर्षको तुलनामा यसपालि सर्वसाधारणले निकै सहज र व्यवस्थित रूपमा नयाँ नोट पाइरहेको बैंकको भनाइ छ।




