spot_img

एआई, ड्रोन र ठगी नियन्त्रणका लागि नयाँ संरचना बनाउँदै प्रहरी : आईजीपी कार्की

spot_img
spot_img

काठमाडौं,३० असाेज । नेपाल प्रहरीलाई प्रविधिमैत्री र समयानुकूल बनाउन कृत्रिम बौद्धिकता (एआई), ड्रोन तथा एन्टि–ड्रोन प्रविधिको प्रयोग विस्तार गर्नुका साथै ठगी नियन्त्रणका लागि नयाँ संरचना विकास गरिने प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै आईजीपी कार्कीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन र प्रहरी सेवालाई आधुनिक प्रविधिसँग जोड्न विभिन्न योजना अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार प्रहरी संगठनमा एआई तथा एड्भान्स्ड एनालिटिक्स सेल, हवाई सुरक्षा व्यवस्थापनका लागि ड्रोन तथा एन्टि–ड्रोन युनिट र ठगी नियन्त्रणका लागि इन्टिग्रेटेड एन्टि–स्क्याम सेन्टर स्थापना गर्ने योजना अघि सारिएको छ । यी संरचनाले अपराध नियन्त्रण, अनुसन्धान र प्रहरीको कार्यक्षमता अभिवृद्धिमा सहयोग पुग्ने उनको विश्वास छ ।

कार्कीले नागरिकमैत्री, उत्तरदायी र प्रविधिमैत्री प्रहरी संगठन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी सुधारमा सहयोग गर्ने सञ्चारकर्मी, नागरिक समाज, समुदाय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरे । उनले अमर प्रहरीहरूको बलिदानलाई सम्मान गर्दै संगठनलाई थप प्रभावकारी बनाउने बताए ।

त्यसैगरी, नेपाल प्रहरी अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गर्दै भविष्यमा नेपाल प्रहरी मेडिकल कलेज स्थापना गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । यसबाट प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो ।

प्रहरी संगठनको प्रभावकारिता कायम राख्न आदेश शृङ्खला, अनुशासन, जवाफदेहिता र आपसी समन्वयलाई महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै कार्कीले संगठनलाई थप उत्तरदायी बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृतसमेत गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय