काठमाडौं,३० असाेज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नियमित प्रशासनिक कामबाट अलग रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग संवाद गर्दै समुन्नति अभियान अघि बढाउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल पेशाकर्मी अभियान परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पार्टीका दैनिक प्रशासनिक काम वरिष्ठ उपसभापति र महामन्त्रीहरूले सम्हाल्ने गरी आफू देशभर घुमेर नागरिकका समस्या, आवश्यकता र अपेक्षा बुझ्न केन्द्रित हुने बताए ।
उनले नेपाली कांग्रेसको संगठन निर्माण, कार्यशैली र सोच्ने तरिकामा परिवर्तन आवश्यक रहेको उल्लेख गरे । विगतका नेताहरूको योगदानबाट प्रेरणा लिनुपर्ने भए पनि वर्तमान समाजका समस्या समाधान गर्न अहिलेको पुस्ताले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
थापाले रोजगारी सिर्जना, वैदेशिक पलायन नियन्त्रण, आर्थिक विकास, सुशासन, सामाजिक विभेदको अन्त्य र वातावरण संरक्षणलाई समुन्नतिका प्रमुख सवालका रूपमा प्रस्तुत गरे । लोकतन्त्र र नागरिक अधिकारको रक्षा गर्दै यी चुनौतीको समाधान खोज्नुपर्ने उनले बताए ।
सामाजिक सञ्जालमा मात्र बहस गरेर समस्याको समाधान नहुने उल्लेख गर्दै उनले विचारविमर्श, छलफल र गहन चिन्तनमार्फत नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्नेमा जोड दिए ।
‘नेपाली कांग्रेसले आजको समाजका आवश्यकता, जनताका प्रश्न र समसामयिक मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्छ । सामाजिक सञ्जालमा मात्र केन्द्रित नभई छलफल, बहस र चिन्तनमार्फत समस्याको समाधान खोज्नुपर्छ,’ थापाले भने ।
उनले पार्टीका नियमित कामभन्दा बाहिर रहेर देशभरका नेता, कार्यकर्ता र नागरिकसँग भेटघाट गर्ने, उनीहरूका कुरा सुन्ने र समस्याको समाधान खोज्ने अवसर आफूलाई दिनुपर्ने बताए ।
कांग्रेस कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौँ नागरिकको साझा संस्था भएको उल्लेख गर्दै थापाले पार्टीभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने बताए ।
कुनै नेता वा कार्यकर्ताको व्यक्तिगत आचरण तथा आर्थिक गतिविधिका कारण सिंगो पार्टीलाई दोषी ठहर्याउन नहुने उनको भनाइ थियो । यद्यपि, व्यक्तिगत कमजोरी वा गलत गतिविधिको पार्टीले बचाउ गर्न नहुने उनले स्पष्ट पारे ।
‘पार्टी नेतृत्वको समर्थन भनेको व्यक्तिका गलत कार्यको बचाउ गर्नु होइन, उसले पार्टी र जनताका लागि गर्ने सही कामलाई बलियो बनाउनु हो,’ थापाले भने ।
कांग्रेसलाई स्वच्छ, जिम्मेवार र जनउत्तरदायी बनाउन तल्लो तहबाटै सुधारको सुरुवात गर्नुपर्नेमा उनले जोड दिए । साथै, सञ्चारमाध्यमले पनि कुनै व्यक्तिको व्यक्तिगत कमजोरीका आधारमा सिंगो पार्टीलाई दोषी ठहर्याउन नहुने उनको आग्रह थियो ।




