सर्लाही,३० असाेज । सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ ।
बिहीबार साँझ करिब ४ः३० बजे नवलपुर–चैनपुरा प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
कविलासी नगरपालिका–७ सिरसिया निवासी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना हुन नदिन विद्युत् सेवा बन्द गरिएको थियो । विद्युत् आपूर्ति रोकिँदा सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा सेवा प्रभावित भएको थियो ।
प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गर्न सफल भएको हो ।
युवती टावरमा चढ्नुको कारणबारे भने विवरण खुलाइएको छैन ।




