सप्तरी,३० असाेज । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विभिन्न पदमा ८० जना कर्मचारी करार सेवामा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ ।
अस्पतालले शुक्रबार पहिलोपटक सूचना प्रकाशित गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकबाट सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन पेस गर्न आग्रह गरेको हो ।
अस्पतालले विशेषज्ञ चिकित्सकदेखि नर्स, मेडिकल अधिकृत तथा प्राविधिक जनशक्तिसम्मका विभिन्न पदमा कर्मचारी माग गरेको छ । माग गरिएका पदमा जनरल फिजिसियन, एनेस्थेसियोलोजिस्ट, मनोचिकित्सक, रेडियोलोजिस्ट, मिर्गौला रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, ईएनटी सर्जन, अर्थोपेडिक सर्जन, छालारोग विशेषज्ञ, सर्जन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ र नेत्ररोग विशेषज्ञ रहेका छन् ।
त्यस्तै, फरेन्सिक मेडिसिन अधिकृत, मेडिकल अधिकृत, स्टाफ नर्स, डेन्टल सर्जन, फिजियोथेरापिस्ट, बायोमेडिकल इन्जिनियर, डाइटिसियन, सूचना प्रविधि अधिकृत, डेन्टल हाइजिनिस्ट र एनेस्थेसिया असिस्टेन्टलगायत पदमा पनि कर्मचारी माग गरिएको अस्पतालले जनाएको छ ।
उम्मेदवारको छनोट लिखित परीक्षा तथा अन्तर्वार्तामार्फत गरिनेछ । नियुक्त कर्मचारीको तलब तथा अन्य सेवा सुविधा नेपाल सरकारले तोकेबमोजिम हुने अस्पतालले जनाएको छ ।
इच्छुक उम्मेदवारले लोकसेवा आयोगको वेबसाइटबाट आवेदन फाराम प्राप्त गरी आवश्यक विवरण भरेर अस्पतालको प्रशासन शाखामा बुझाउन सक्नेछन् ।
भर्नासम्बन्धी थप जानकारी अस्पतालको वेबसाइट, फेसबुक पेज वा पदपूर्ति समितिका सदस्य सचिव नारायण यादवसँग सम्पर्क गरेर लिन सकिने अस्पतालले जनाएको छ ।





