वीरगंज,३० असाेज । वीरगंजको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई दुई खण्डमा विभाजन गरी निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडकको कुल लम्बाइ ८.०५४ किलोमिटर रहेको छ । आयोजनाअन्तर्गत पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्म र दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको सडक स्तरोन्नति गरिनेछ ।
पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिनेछ । यसका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-26 निर्धारण गरिएको छ । उक्त खण्डको बोलपत्र जमानत रकम ६ करोड रुपैयाँ र बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक स्तरोन्नति गरिनेछ । यस खण्डका लागि ठेक्का नम्बर TRP/RDHTD/33701130/083/84-27 निर्धारण गरिएको छ । दोस्रो खण्डको बोलपत्र जमानत रकम ५ करोड ५० लाख रुपैयाँ र बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ ।
दुवै खण्डको बोलपत्र जमानत रकम जोड्दा ११ करोड ५० लाख रुपैयाँ पुग्छ । तर, सडक विस्तार तथा स्तरोन्नति आयोजनाको कुल अनुमानित लागत भने बोलपत्रसम्बन्धी सूचनामा खुलाइएको छैन ।
सडक डिभिजन कार्यालय हेटौँडाका अनुसार इच्छुक तथा योग्य निर्माण व्यवसायीले २०८३ कात्तिक २० गते दिउँसो १२ बजेसम्म बोलपत्र पेस गर्न सक्नेछन् । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ । बोलपत्रपूर्व बैठक कात्तिक ९ गते बिहान ११ बजे बस्ने तय गरिएको छ ।
लामो समयदेखि चर्चामा रहेको वीरगंज मेनरोड विस्तारको ठेक्का प्रक्रिया अघि बढेसँगै सडक स्तरोन्नतिको कामले गति लिने अपेक्षा गरिएको छ । वीरगंजको प्रमुख व्यापारिक तथा यातायात मार्गका रूपमा रहेको मेनरोड सुधार भएपछि सवारी आवागमन सहज हुने र ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ ।
अब निर्माण व्यवसायी छनोट र ठेक्का सम्झौता सम्पन्न भएपछि आयोजनाको काम कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा वीरगंजवासीको चासो बढेको छ ।




