चितवन,३० असाेज । नेपालमा जंगली भाले हात्ती मारिने क्रम बढ्दै जाँदा हात्तीको प्रजनन र दीर्घकालीन संरक्षणमा गम्भीर संकट आउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । असोज महिनामा मात्रै तीन वटा वयस्क जंगली भाले हात्ती मारिएका छन् भने यस वर्ष हालसम्म चार वटा भाले हात्तीको मृत्यु भइसकेको छ ।
चितवन राष्ट्रिय निकुञ्जको चर्चित भाले हात्ती ‘रोनाल्डो’ असोज ३ गते वरण्डाभार क्षेत्रमा पर्ने बीसहजारी नजिकै नेपाली सेनाको पोस्टमा लगाइएको तार चपाउँदा करेन्ट लागेर मरेको थियो । देशको एक मात्र हात्ती प्रजनन केन्द्र सौराहामा प्रजननका लागि महत्वपूर्ण मानिने रोनाल्डोको मृत्युले हात्तीको प्रजननमा समेत असर पर्न सक्ने विज्ञहरूको भनाइ छ ।
रोनाल्डो मरेको १५ दिनपछि असोज १८ गते सर्लाहीको बागमती नगरपालिका–४ स्थित परबल बारीमा अर्को जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको थियो । ब्रह्मबाबा सामुदायिक वन नजिकै भेटिएको उक्त हात्तीको सुँढलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको थियो ।
त्यसको नौ दिनपछि उदयपुरको बेलका नगरपालिकामा ‘सानो दारे’ नामले चिनिने वयस्क जंगली भाले हात्ती पनि मृत भेटियो । कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा धानबारीमा मृत फेला परेको उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।
यसअघि भदौ ३१ गते झापाको मेचीनगर नगरपालिका–३ तेलपानीस्थित जंगलमा अर्को जंगली भाले हात्ती मृत भेटिएको थियो । यसरी डेढ महिनाको अवधिमा चार वटा जंगली भाले हात्तीको मृत्यु भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार गत वर्ष मात्रै नौ वटा जंगली भाले हात्ती मारिएका थिए । पछिल्लो १५ वर्षमा मानवीय कारणबाट ५८ वटा हात्ती मारिएको उनले बताए ।
हात्तीको पारिस्थितिकीमा विद्यावारिधि गरेका डा. रामले भाले हात्ती मारिने क्रम नरोकिए भविष्यमा प्रजननमै समस्या आउन सक्ने बताए । ‘हामीले सौराहामा प्रजनन केन्द्र त खोलेका छौँ, निजी हात्तीलाई पनि भाले हात्तीले प्रजनन गराउँछन् । एक दिन जंगली भाले हात्ती नै भएनन् भने प्रजनन केन्द्रको के अर्थ रहन्छ ?’ उनले प्रश्न गरे ।
उनका अनुसार एउटा भाले हात्तीले धेरै पोथी हात्तीसँग प्रजनन गर्ने भएकाले हात्तीको सङ्ख्या वृद्धि र आनुवंशिक विविधता कायम राख्न भाले हात्तीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले भाले हात्तीको मृत्युले समग्र हात्तीको प्रजनन प्रणालीमै दीर्घकालीन असर पार्न सक्छ ।
डा. रामले विद्युतीय धराप र विषादी प्रयोग गरेर हात्ती मार्ने घटना रोक्न संरक्षणकर्मी, स्थानीय तह र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताए । किसानको बालीमा वन्यजन्तुले क्षति पुर्याउँदा दिइने राहत अपर्याप्त र प्रक्रिया झन्झटिलो हुँदा पनि द्वन्द्व बढ्न सक्ने उनको भनाइ छ ।
‘जंगली जनावरले खेती खाँदा १० हजार रुपैयाँ क्षतिपूर्ति दिने गरिन्छ, तर क्षति धेरै भएको हुन्छ । त्यही १० हजार लिन पनि किसानको अरू खर्च हुन्छ,’ उनले भने, ‘क्षतिको तत्काल मूल्याङ्कन गरेर तुरुन्तै राहत दिने व्यवस्था भए किसानले विद्युतीय तारबारको धराप थाप्ने थिएनन् । जंगली जनावरले खेती खाँदा किसान दुःखी नभई खुसी हुने अवस्था ल्याउनुपर्छ ।’
उनले स्थानीय तहबाटै किसानलाई उचित राहत उपलब्ध गराउने व्यवस्था गर्न सकिने पनि बताए ।
यसैबीच, झापामा अर्को एउटा जंगली हात्ती गम्भीर घाइते अवस्थामा रहेको छ । उक्त हात्तीको जीवनरक्षाका लागि वन तथा निकुञ्जका निकायले उपचारको व्यवस्था मिलाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुसन्धान अधिकृत डा. गणेश पन्तका अनुसार हात्तीलाई डार्ट गरेर उपचार गर्न चितवन राष्ट्रिय निकुञ्जबाट समेत प्राविधिक तथा चिकित्सकको टोली खटाइएको छ ।
संरक्षणकर्मी डा. बाबुराम लामिछानेका अनुसार नेपालमा करिब दुई सयको हाराहारीमा रहेका हात्तीमध्ये बर्सेनि ११ देखि १२ वटासम्म मारिने गरेका छन् । यही अवस्था कायम रहे भविष्यमा नेपालमा हात्ती लोप हुने जोखिम बढ्ने उनको चिन्ता छ ।
विज्ञहरूका अनुसार हात्तीले पुस्तौँदेखि प्रयोग गर्दै आएका जैविक मार्गमा मानवीय गतिविधि र भौतिक संरचनाको अवरोध बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चर्किएको छ । लामो दूरीमा आनुवंशिक आदानप्रदानका लागि हिँड्ने भाले हात्तीहरू विशेष जोखिममा पर्ने गरेका छन् ।
धान पाक्ने समयमा खेतमा आहार खोज्दै पस्ने हात्ती विद्युतीय धराप तथा अन्य अवैध उपायको सिकार हुने गरेका छन् । त्यसैले जैविक मार्गको संरक्षण, किसानलाई समयमै उचित क्षतिपूर्ति, जनचेतना अभिवृद्धि र प्रभावकारी संरक्षण नीति कार्यान्वयन गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
संरक्षणकर्मी लामिछानेले हात्ती मारिने क्रम नरोकिए भविष्यमा नेपालका हात्ती तस्वीर र नोटमा मात्रै सीमित हुने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।




