spot_img

प्रहरी सेवामा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्नेमा एसएसपी मगरको जोड

spot_img
spot_img

वीरगंज,३० असाेज । मधेस प्रदेश प्रहरी कार्यालय वीरगंजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णपल्लि मगरले नागरिकले बिचौलियाको सहयोगबिना प्रहरीबाट सहज रूपमा सेवा लिन सक्ने वातावरण अझै पूर्णरूपमा निर्माण हुन नसकेको स्वीकार गरेका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार बिहान वीरगंजस्थित प्रदेश प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै एसएसपी मगरले प्रहरी सेवा प्रवाहलाई निष्पक्ष, सहज र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिए ।

उनले प्रहरीबाट प्रदान गरिने सेवामा सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र कुनै पनि प्रकारको भेदभाव हुन नहुने बताए ।
‘सबैलाई गर्ने व्यवहार समान हुनुपर्छ, सेवामा भेदभाव हुनु हुँदैन,’ उनले भने ।

प्रहरी कार्यालयमा पुगेर आफ्नो समस्या राख्न तथा सेवा लिन नागरिकले बीचमा कुनै व्यक्तिको सहयोग खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ थियो । पीडितले कुनै मध्यस्थकर्ताको सहारा नलिई प्रहरीसमक्ष प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्न र न्यायका लागि पहल गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको उनले बताए ।

प्रहरी सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्नु र सबैलाई समान व्यवहार गर्नु संगठनको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै उनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने सन्देश दिएका छन् ।

प्रहरी दिवसका अवसरमा व्यक्त गरिएको उनको भनाइले प्रहरी सेवालाई बिचौलियामुक्त, पारदर्शी र नागरिकमैत्री बनाउने चुनौती अझै कायम रहेको देखाएको छ ।

प्रहरी दिवस प्रहरी संगठनको स्थापना दिवसका रूपमा हरेक वर्ष मनाइन्छ । यस अवसरमा संगठनले पुर्‍याएको योगदानको स्मरण गर्नुका साथै प्रहरीको जिम्मेवारी, सेवा प्रवाह र नागरिकसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा चर्चा गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईलगायत नागरिक समाजका प्रतिनिधि, व्यवसायी तथा पूर्वप्रहरीहरूको सहभागिता थियो ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय