काठमाडौं,३० असाेज । काठमाडौं महानगरपालिकाले बडादशैंका अवसरमा कात्तिक १, ३ र ४ गते घरबाट निस्कने फोहोर बाहिर ननिकाली घरमै सुरक्षित रूपमा राख्न नगरवासीलाई आग्रह गरेको छ ।
महानगरपालिकाका अनुसार उक्त तीन दिन फोहोर संकलन नहुने भएकाले सर्वसाधारणले आफ्नो घरमा निस्कने फोहोर व्यवस्थापन गरी सुरक्षित रूपमा राख्नुपर्नेछ ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले बडादशैंका अवसरमा सफाइ कर्मचारीहरू पनि चाडपर्व मनाउन बिदामा रहने भएकाले ती दिन फोहोर संकलन कार्य स्थगित हुने जानकारी दिइन् ।
विभागले घरमा जम्मा भएको फोहोर कुहिने र नकुहिने गरी छुट्याएर छुट्टाछुट्टै भाँडो वा झोलामा राख्न पनि नगरवासीलाई सुझाव दिएको छ । यसो गर्दा फोहोरको उचित व्यवस्थापन गर्न सहज हुने महानगरको भनाइ छ ।
महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेबाहेक अन्य दिनमा भने फोहोर संकलन तथा व्यवस्थापन कार्य नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।




