काठमाडौं,३० असाेज । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादास्पद अडियो प्रकरणमा आवश्यक परे सरकारले अनुसन्धान प्रक्रिया अघि बढाउने बताएका छन् ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले कुनै पनि मुद्दालाई सरकारले दबाउन नखोज्ने स्पष्ट पारे ।
‘सरकारले कुनै पनि मुद्दालाई दबाउन खोज्ने कुरा हुँदैन । आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ, त्यसअनुसार प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
सञ्चारकर्मीहरूले सांसद सुनारसँग सम्बन्धित अडियो प्रकरणमा सरकारले छानबिन नगरेर घटना दबाउन खोजेको हो कि भन्ने प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री तिमल्सिनाले आवश्यकताअनुसार कानुनी प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
सांसद सुनारले महिलामाथि हिंसा गरेको आरोपसँग जोडिएको अडियो सार्वजनिक भएपछि उक्त विषय विवादमा आएको हो । यस प्रकरणमा रास्वपाले आन्तरिक रूपमा छानबिन गरिरहेको छ ।
सरकारले यस विषयमा औपचारिक अनुसन्धान अघि बढाउने वा नबढाउने भन्नेबारे भने मन्त्री तिमल्सिनाले आवश्यक परे प्रक्रिया अघि बढाइने बताएका छन् ।




