जनकपुर,३० असाेज । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेका चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् ।
एमालेका प्रमुख सचेतक हरिनारायण महतोले पार्टीका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएको र सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिए ।
राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । उनको नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टी पनि गठबन्धनमा सहभागी छ ।
एमाले सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने देखिएको छ । नयाँ सरकार गठनको राजनीतिक कसरत अघि बढाउने उद्देश्यले एमालेले समर्थन फिर्ता लिएको हो ।




