सिरहा,३१ असाेज । सिरहाको बरियारपट्टी गाउँपालिका–२ खोक्सीमा पुरानो रिसइबीका कारण दुई समूहबीच भएको झडपमा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असोज ३० गते राति करिब ११ः५५ बजे स्थानीयबीच कुटपिट भएको थियो। घटनामा स्थानीय ४५ वर्षीय सुरेन्द्र दास, उनकी ४० वर्षीया श्रीमती उषा देवी दास तथा उनीहरूका छोराहरू २५ वर्षीय राधाकृष्ण दास, २२ वर्षीय हरिकृष्ण दास र १७ वर्षीय देवकृष्ण दास घाइते भएका हुन्।
कुटपिटबाट सुरेन्द्रको खुट्टा र दाहिने हातमा, उषाको दाहिने हातमा तथा राधाकृष्णको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। हरिकृष्ण र देवकृष्णलाई भित्री चोट लागेको बताइएको छ। घाइते पाँचै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो। उपचारपछि उनीहरूलाई असोज ३१ गते बिहान डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
कुटपिटको घटनापछि आक्रोशित बनेको समूहले दुईवटा मोटरसाइकलमा आगजनी गरेको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। करिब १५० देखि २०० जनाको समूहले मोटरसाइकलमा आगो लगाएको बताइएको छ। आगजनीबाट दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार एउटा मोटरसाइकलको नम्बर खुल्न सकेको छैन भने अर्को मोटरसाइकलको नम्बर बीआर–३२ यू ६०१६ रहेको छ। दुवै मोटरसाइकलका धनीको पहिचान खुल्न बाँकी छ।
घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी जानकीनगरबाट प्रहरी सहायक निरीक्षक ओम प्रमोद साहको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय महेशपुर पतार, बरियारपट्टी, झाझपट्टी तथा प्रहरी चौकी कचनारीबाट समेत थप प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशबहादुर पालका अनुसार असोज ३१ गते बिहान कुटपिटमा संलग्न रहेको आरोपमा टुनटुन भन्ने राजकुमार यादव, कृष्ण यादव र कपिल यादवलाई पक्राउ गरिएको हो।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार हाल घटनास्थलको अवस्था सामान्य रहेको छ।




