spot_img

दुई वर्षसम्म कैद सजाय पाएकालाई सुधारगृहमा राख्न सकिने

spot_img
spot_img

काठमाडौं,३१ असाेज । दुई वर्ष वा सोभन्दा कम कैद सजाय भएका कसुरदारलाई कारागारको सट्टा सुधारगृहमा राख्न सकिने कानुनी व्यवस्था आगामी कात्तिक १५ गतेदेखि लागू हुने भएको छ। सरकारले कैद सजाय भुक्तानसँगै सुधार, उपचार र पुनःस्थापनालाई प्राथमिकता दिने उद्देश्यले यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ का कार्यान्वयनमा आउन बाँकी केही प्रावधानलाई २०८३ साल कात्तिक १५ गतेदेखि लागू गर्ने निर्णय गरेको छ। यससँगै ऐनको दफा १७ को खण्ड (ङ), दफा २५ र दफा २६ कार्यान्वयनमा आउनेछन्।

नयाँ व्यवस्थाअनुसार कसुरदारको उमेर, आचरण, कसुर गर्दाको परिस्थिति र कसुर गर्ने तरिकालगायतका विषय मूल्यांकन गरी सुधारगृहमा राख्न उपयुक्त देखिएमा अदालतले प्रोवेशन अधिकृतको सिफारिसमा त्यस्तो निर्णय गर्न सक्नेछ।

सुधारगृहमा राखिएका कसुरदारले प्रोवेशन तथा प्यारोल बोर्डले निर्धारण गरेका सर्तहरू पालना गर्नुपर्नेछ। तोकिएका सर्त पालना गर्दै निर्धारित अवधि पूरा गरेमा त्यसलाई कारागारमा कैद भुक्तान गरेसरह मानिने व्यवस्था गरिएको छ। तर, सुधारगृहमा रहँदा आचरणमा सुधार नआएमा, तोकिएका सर्त उल्लंघन गरेमा वा कैद सजाय हुने अर्को कसुर गरेमा भने सम्बन्धित व्यक्तिले पूरा कैद अवधि कारागारमै बिताउनुपर्नेछ।

नयाँ व्यवस्थाले लागुऔषध सेवनका कसुरदार तथा शारीरिक वा मानसिक दुर्बलताबाट पीडित व्यक्तिलाई आवश्यकताअनुसार पुनःस्थापना केन्द्रमा पठाउन सकिने व्यवस्था पनि गरेको छ।कसुरदारको उमेर, कसुर गर्दाको परिस्थिति र पुनःस्थापनाको आवश्यकतालाई ध्यानमा राखेर प्रोवेशन अधिकृतको सिफारिसमा अदालतले यस्तो निर्णय गर्न सक्नेछ।

पुनःस्थापना केन्द्रमा लागुऔषध वा अन्य दुर्व्यसनबाट पीडित तथा शारीरिक वा मानसिक दुर्बलता भएका व्यक्तिलाई उपचार र पुनःस्थापनासम्बन्धी सेवा प्रदान गरिनेछ। त्यहाँ पठाइएका व्यक्तिले पनि तोकिएका सर्त पालना गरी निर्धारित अवधि पूरा गरेमा कैद भुक्तान गरेको मानिनेछ।

यद्यपि, पुनःस्थापनाको अवधिमा सर्त उल्लंघन गरेमा, आचरणमा सुधार नआएमा वा अर्को कैद सजाय हुने कसुर गरेमा पूरा कैद अवधि कारागारमै बिताउनुपर्ने व्यवस्था छ। सबै कसुरदारले यो सुविधा पाउने छैनन्। ऐनको दफा २४ को उपदफा (३) मा उल्लिखित कसुरमा संलग्न व्यक्तिलाई सुधारगृह वा पुनःस्थापना केन्द्रमा पठाउन नपाइने व्यवस्था गरिएको छ।

यसमा कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर, भ्रष्टाचार, अपहरण तथा शरीर बन्धक, डाँका, लागुऔषधको ओसारपसार तथा कारोबार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना तथा मानवताविरुद्धका अपराधलगायतका गम्भीर कसुर समावेश छन्।

यस्ता कसुरमा दोषी ठहर भएका व्यक्तिले प्रचलित कानुनअनुसार कारागारमै कैद भुक्तान गर्नुपर्नेछ।

सरकारको यो व्यवस्थाले उपयुक्त कसुरदारलाई कारागारमा राख्नुको सट्टा सुधार, उपचार र पुनःस्थापनामार्फत समाजमा पुनःस्थापित हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, कसुरको प्रकृति र व्यक्तिको अवस्थाअनुसार सजाय कार्यान्वयन गर्ने विकल्पलाई प्रभावकारी बनाउने लक्ष्यसमेत यसले राखेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय