spot_img

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित १७ वर्षीय किशोर पक्राउ

spot_img
spot_img

रौतहट,३१ असाेज । रौतहटको गरुडा नगरपालिका–८ स्थित बिर्ता चोकबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३, कार्की डाँडाघरका १७ वर्षीय नवीन विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार गौरबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख. ४७०४ नम्बरको यात्रुवाहक बसलाई बिर्ता चोकमा जाँच गर्ने क्रममा विकको झोलाबाट प्रतिबन्धित लागुऔषध बरामद भएको हो।

बसमा सवार यात्रुहरूको झोला तथा सामान जाँच गर्ने क्रममा कालो प्लास्टिकमा बेरिएर लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका सुईमार्फत प्रयोग गरिने लागुऔषधका एम्पुल फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वसन्त गौतमले पक्राउ परेका विकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीले बरामद लागुऔषध कहाँबाट ल्याइएको र कसलाई पुर्‍याउन लागिएको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। साथै, यस घटनामा अन्य व्यक्ति वा लागुऔषध कारोबारको सञ्जालको संलग्नता भए–नभएकोबारे समेत अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए।

पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्रतिबन्धित लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय