जनकपुर,०२ कातिक । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९०३१ नम्बरको बसले गएराति ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धिरजलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएका छन्। घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न बस र चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




