वीरगंज, २ कार्तिक । आयुष्मान खुराना र सारा अली खान अभिनीत बलिउड फिल्म ‘उड्ता तीर’ लाई नेपालमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ।
सूचना तथा सञ्चार मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै फिल्म प्रदर्शनको अनुमति नदिइएको स्पष्ट पारेको हो।
आकाश कौशिकको निर्देशनमा बनेको यो स्पाई(कमेडी फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो। तर, निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) बमोजिम मित्रराष्ट्रको छविमा आँच आउने वा वैमनस्यता बढाउने विषयवस्तु समेटिएकाले यसको प्रदर्शन रोकिएको हो।
फिल्मले भारत–पाकिस्तानबिचको तिक्तता र जासुसी कथावस्तु पस्किएकाले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शनमा रोक लगाएको फिल्म समीक्षक सामिप्यराज तिमिल्सिनाले बताएका छन्।
नेपालका लागि भारत र पाकिस्तान दुवै मित्रराष्ट्र भएकाले कुनै पनि देशको राष्ट्रियता र समुदायलाई प्रत्यक्ष असर पार्ने वा कूटनीतिक सम्बन्धमा खलल पुर्याउने फिल्मलाई कानुनी रूपमै रोक्न पाइने व्यवस्था छ। धर्मा प्रोडक्सन्स र सिख्या इन्टरटेन्मेन्टले निर्माण गरेको यस फिल्ममा आयुष्मानले स्मृति गुमाउने एक पाकिस्तानी जासुसको भूमिका निर्वाह गरेका छन्।




