काठमाडौं,०२ कातिक । बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली चलाएको आरोप लागेका तीन जनालाई भारतको राजस्थानस्थित कोटा प्रहरीले पक्राउ गरेको छ। उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार कोटा सिटी प्रहरीले सोमबार बिहान करिब ११ः३० बजे रेलवे स्टेसनबाट तीनै जनालाई नियन्त्रणमा लिएको हो।
कोटा प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले पक्राउ परेका अभियुक्तहरू दिल्ली हुँदै नेपाल जाने योजनामा रहेको जानकारी दिएकी छन्। उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म हतियार भने बरामद गर्न सकेको छैन।
आइतबार साँझ मुम्बईमा अज्ञात व्यक्तिहरूले अभिनेता टाइगर श्राफको कारमा गोली चलाएका थिए। उक्त घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको थियो।
घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परे पनि गोली चलाउन प्रयोग गरिएको हतियार र घटनाको अन्य पक्षबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




