वीरगंज, २ कार्तिक । नेपाल टेलिकमको ‘एनटी फाइबर’ इन्टरनेट सेवातर्फ ग्राहकको आकर्षण बढेको छ।
नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन र सेवा अनुरोध गर्न ग्राहकको चाप बढेपछि कम्पनीले आफ्नो सोधपुछ नम्बर १९८ को क्षमता वृद्धि गरेको छ।
अहिले टेलिकमले एनटी फाइबरअन्तर्गत वार्षिक रु ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ। बजारमा अन्य सेवा प्रदायकको तुलनामा कम शुल्कमा गुणस्तरीय सेवा पाइने भएपछि ग्राहकहरू एनटी फाइबरतर्फ आकर्षित भएका हुन्।
नयाँ लाइन जडान गर्न चाहने ग्राहकले १९८ नम्बरमा कल गरी सेवाको उपलब्धता बुझ्न सक्नेछन्। यसका साथै टेलिकमको आधिकारिक वेबसाइट https://complain.ntc.net.np/ मा लगइन गरी आफ्नै मोबाइल नम्बरमार्फत अनलाइनबाटै नयाँ जडानको अनुरोध तथा सेवासम्बन्धी गुनासो दर्ता गर्न सकिने व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ।




