वीरगंज,०४ कार्तिक । दसैँलगायतका चाडपर्वमा खानपानमा लापरबाही गर्दा स्वास्थ्य समस्या बढ्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन्। अत्यधिक चिल्लो तथा मासुजन्य पदार्थ, मादक पदार्थ र धूमपानको सेवनसँगै नियमित औषधि सेवनमा लापरबाही गर्दा हृदयाघात, पक्षघातलगायतका गम्भीर समस्या निम्तिन सक्ने उनीहरूको भनाइ छ।
चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षमा चाडपर्वका समयमा पनि दैनिक करिब १५० जनाले सेवा लिइरहेका छन्। अस्पतालका अनुसार उपचारका लागि आउने बिरामीमध्ये सवारी दुर्घटनामा घाइते भएका, हृदयाघात, पक्षघात तथा खानपानसँग सम्बन्धित समस्या भएका व्यक्तिको सङ्ख्या उल्लेख्य छ।
अस्पतालको कलेजो विभागका प्राध्यापक डा. दयाराम लम्सालले आफ्नो करिब तीन दशकको अनुभवका आधारमा चाडपर्वमा खानपान र व्यवहारमा सावधानी नअपनाउँदा धेरै मानिस अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको बताए।
उनका अनुसार चाडपर्वमा विषाक्त खाना सेवन, हड्डी घाँटीमा अड्किने, खाना पकाउँदा जल्ने, जङ्गली च्याउ खाएर बिरामी हुने तथा घरको छतबाट लड्ने जस्ता समस्या लिएर बिरामी आउने गरेका छन्। दीर्घरोगीले नियमित औषधि सेवन नगर्दा, करेन्ट लाग्दा र पर्याप्त निद्रा नपुग्दासमेत स्वास्थ्यमा जटिलता देखिने गरेको उनले बताए।
चाडपर्वका बेला अत्यधिक मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने र आपसी झैझगडामा घाइते हुने घटना पनि बढ्ने गरेको डा. लम्सालको भनाइ छ। उनले ट्राफिक प्रहरीबाट बच्नका लागि मात्र नभई आफ्नै जीवन सुरक्षाका लागि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गरे। सामान्य विवादलाई झैझगडामा परिणत हुन नदिन पनि उनले सुझाव दिए।
चाडपर्वमा खानपान र रमाइलोमा व्यस्त हुँदा दीर्घरोगीले नियमित औषधि छुटाउने गरेको उल्लेख गर्दै उनले चिल्लो पदार्थ, मासुजन्य परिकार, धूमपान र मादक पदार्थको अत्यधिक सेवनबाट बच्नुपर्ने बताए। राति अबेरसम्म जाग्राम बस्दा पर्याप्त निद्रा नपुग्ने र यसले पनि स्वास्थ्य जोखिम बढाउन सक्ने उनले जानकारी दिए।
हृदयाघात र पक्षघात भएका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके उपचार प्रभावकारी हुने सम्भावना बढ्ने डा. लम्सालले बताए। उनका अनुसार हृदयाघात र पक्षघातको आशङ्का भएमा घरमै बसेर समय खेर नफाली तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्छ।
चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सिएमसीले विशेषज्ञ चिकित्सकसहितको टोली तयारी अवस्थामा राखेको जनाएको छ। अस्पतालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार आफ्नै कार्यविधिसमेत तयार गरी मुटु, न्युरो तथा रेडियोलोजी सेवाका टोलीलाई तयारी अवस्थामा राखेको जनाएको छ।
आकस्मिक उपचारमा कार्यरत डा. रविन बमले पक्षघातका लक्षण देखिएमा अस्पताल आउन ढिलाइ गर्न नहुने बताए। शरीरको कुनै भाग नचल्ने, जिब्रो लाटो हुने, मुख बाङ्गिने वा हातखुट्टा चलाउन कठिनाइ हुनेजस्ता लक्षण देखिए तत्काल अस्पताल पुग्नुपर्ने उनको सुझाव छ।
“चाडपर्व छ, भोलि अस्पताल जाउँला भनेर बस्नु हुँदैन,” उनले भने।
त्यस्तै, धेरै चिल्लो र मासुजन्य परिकार खाएको भन्दै शरीरले धान्न नसक्ने गरी कडा व्यायाम नगर्न पनि डा. बमले आग्रह गरे। व्यायाम गर्दा आफ्नो शारीरिक अवस्थाअनुसार सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
चाडपर्वमा हृदयाघातको जोखिमलाई ध्यानमा राख्दै छाती दुख्ने, छाती भारी हुने वा श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल जान चिकित्सकहरूले सुझाव दिएका छन्। नियमित औषधि सेवन, सन्तुलित खानपान, पर्याप्त निद्रा र सुरक्षित व्यवहार अपनाउन सके चाडपर्वमा हुन सक्ने स्वास्थ्य जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ।




