वीरगंज,०६ कार्तिक । विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराले सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
चाडपर्वका बेला सीमावर्ती क्षेत्रमा मानिसको आवतजावत बढ्ने भएकाले चोरी–तस्करी, भन्सार छली तथा अन्य आपराधिक गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने, अवैध सामानको ओसारपसार नियन्त्रण गर्ने र सीमापार अपराध रोकथाम गर्ने उद्देश्यले नियमित गस्ती, चेकजाँच तथा विशेष सुरक्षा परिचालनलाई तीव्रता दिइएको हो।
यसैक्रममा नेपाल–भारत सीमामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ। संयुक्त गस्तीका क्रममा सीमा स्तम्भको अनुगमन, दशगजा क्षेत्रको निरीक्षण तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराले मातहतका सीमा सुरक्षा गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी) लाई थप सतर्क र सक्रिय रहन निर्देशन दिएको छ। चाडपर्वका समयमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको गणले जनाएको छ।
सीमा सुरक्षा प्रभावकारी बनाउन स्थानीय नागरिक, सरोकारवाला निकाय तथा भारतीय सुरक्षा निकायसँग समन्वय र सहकार्यलाई समेत निरन्तरता दिइएको छ।
चाडपर्वका समयमा सीमावर्ती क्षेत्रमा हुन सक्ने चोरी–तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने अवस्था सुनिश्चित गर्न गस्ती र निगरानीलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।




