काठमाडौं,०६ कार्तिक । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (तिब्बत) मा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।
भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जना सामान्य घाइते भएका छन्। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको अधिकारीहरूले जनाएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
उद्धार र राहत कार्यलाई तीव्रता दिन ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ जना जनशक्ति प्रभावित क्षेत्रमा खटाएको छ।
भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण संकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।




