काठमाडौं,०८ कार्तिक । बलिउड अभिनेता टाइगर श्रफले मुम्बईस्थित आफ्नो अपार्टमेन्ट नौ करोड भारतीय रुपैयाँमा बिक्री गरेका छन्। सन् २०१८ मा सात करोड ६१ लाख भारूमा खरिद गरेको उक्त अपार्टमेन्ट उनले हाल नौ करोड भारूमा बेचेका हुन्।
‘द इन्डियन एक्सप्रेस’का अनुसार उक्त अपार्टमेन्ट मुम्बईको खार वेस्टस्थित रुस्तमजी प्यारामाउन्ट डी कोअपरेटिभ हाउजिङ सोसाइटीको नवौँ तलामा रहेको छ।
टाइगरको अपार्टमेन्ट बिक्रीको खबर सार्वजनिक भएसँगै यसले थप चासो पाएको छ। गत अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा उनको कारलाई लक्षित गरी गोली प्रहार भएको थियो। फुटबल खेलेर फर्किने क्रममा रहेका श्रफको कारनजिक मोटरसाइकलमा आएका तीन जनाले गोली चलाएका थिए।
घटनाका क्रममा पाँच राउन्ड गोली प्रहार भएको थियो। टाइगर ठूलो चोटबाट जोगिए पनि उनका चालक र एक सर्वसाधारण घाइते भएका थिए। घटनापछि मुम्बई प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
‘दि इकोनोमिक टाइम्स’का अनुसार गोली प्रहार घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ। गोली प्रहार भएको केही दिनपछि नै टाइगरले अपार्टमेन्ट बेचेका भए पनि यी दुई घटनाबीच कुनै सम्बन्ध रहेको पुष्टि भएको छैन। साथै, अपार्टमेन्ट बिक्रीको निर्णय कहिले गरिएको थियो भन्नेबारे पनि सार्वजनिक विवरण उपलब्ध छैन।
‘बिजनेस टुडे’का अनुसार टाइगरले पछिल्लो एक वर्षमा बिक्री गरेको यो तेस्रो सम्पत्ति हो। यसअघि उनले मुम्बईकै रुस्तमजी प्यारामाउन्ट परियोजनामा रहेको अर्को अपार्टमेन्ट १५ करोड ६० लाख भारूमा बिक्री गरेका थिए।
त्यस्तै, उनले पुणेस्थित आफ्नो आवासीय सम्पत्ति पनि आठ करोड ८७ लाख भारतीय रुपैयाँमा बेचेका थिए।




