काठमाडौं,०९ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध उजुरी आह्वान गरेको छ।
समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित न्यायाधीशलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा त्यसको स्पष्ट आधार र प्रमाणसहित १० दिनभित्र उजुरी दिन आग्रह गरेको हो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले पुनरावेदन अदालतका न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिको असोज २६ गतेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि १० दिनसम्म उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार समितिले सोमबार सूचना प्रकाशित गरेको हो।
समितिले उजुरीकर्तालाई स्पष्ट आधार, सबुत तथा प्रमाणसहित शिष्ट र मर्यादित भाषामा कार्यालय समयमा उजुरी दर्ता गराउन आग्रह गरेको छ। उजुरीमा निवेदकले आफ्नो नाम, थर, ठेगाना र सम्पर्क नम्बर अनिवार्य रूपमा खुलाउनुपर्नेछ। यद्यपि, उजुरीकर्ताले चाहेमा उनको पहिचान गोप्य राखिने समितिले जनाएको छ।
उजुरी संसदीय सुनुवाइ समितिको सचिवालय, सिंहदरबारमा प्रत्यक्ष रूपमा वा देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गराउन सकिनेछ।
प्राप्त उजुरीमाथि छानबिन गरेपछि समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।




