काठमाडौं,१० कात्तिक । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि बिनासूचना गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। तोकिएको अवधिमा सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए उनीहरूलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्बन्धित कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत उनीहरू कार्यालयको सम्पर्कमा आएका थिएनन्। त्यसपछि सार्वजनिक सूचनामार्फत उनीहरूलाई आफ्नो भनाइ राख्ने अन्तिम अवसर दिइएको हो।
सूचनामा तोकिएको समयभित्र गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस नगरे प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिमको कसुरमा नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।
हाजिर हुन निर्देशन दिइएका कर्मचारीमध्ये जिल्ला सशस्त्र प्रहरी गुल्म बारामा कार्यरत प्रहरी हवल्दार दिलिपकुमार सिंह, प्रहरी प्रभाग दरबार स्क्वायर भक्तपुरका प्रहरी जवान अनिल परियार, प्रहरी प्रभाग सानेपा ललितपुरका प्रहरी जवान संगम बिसी र इलाका प्रहरी कार्यालय दिल्पा भोजपुरका प्रहरी जवान सञ्जीव राई रहेका छन्।
त्यस्तै, प्रहरी चौकी चिलिङदिन पाँचथरका समीर लिम्बू, इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका सन्तोष तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका विनोद दमै र इलाका प्रहरी कार्यालय रगदा जाजरकोटका टोपबहादुर सुनारलाई पनि हाजिर हुन भनिएको छ।
यसैगरी प्रहरी चौकी स्याउले डडेल्धुराकी यसोदा कुमारी बोगटी, प्रहरी चौकी मेलबिसौना बझाङका करनबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका अमरसिंह साउदलाई समेत सात दिनभित्र कार्यालयमा उपस्थित भई गैरहाजिर रहनुको कारण खुलाउन निर्देशन दिइएको छ।





