वीरगंज, ११ कार्तिक । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को नयाँ आर्थिक शर्तका कारण जनकपुर बोल्ट्समा आबद्ध दुई प्रमुख पाकिस्तानी खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल)बाट बाहिरिएका छन्।
अनुभवी अलराउन्डर इफ्तिकार अहमद र युवा बलर हुनेन साह पिसिबीको थप शुल्क नीतिका कारण एनपीएल खेल्नबाट बञ्चित भएका हुन्।
दुवै खेलाडी पीसीबीबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएर काठमाडौँ आइसकेका थिए। तर प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा पीसीबीले प्रत्येक खेलाडीबापत थप २५ हजार अमेरिकी डलर (करिब ३३ लाख रुपैयाँ) माग गरेपछि उनीहरूको सहभागिता अन्योलमा परेको थियो।
महँगो रकम खर्चेर टोलीमा भित्र्याइसकेको अवस्थामा पीसीबीलाई थप चर्को शुल्क बुझाउन तयार नभएपछि जनकपुर बोल्ट्सले दुवै खेलाडीलाई टोलीबाट बाहिर राख्ने निर्णय गरेको छ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) निरोज खतिवडाका अनुसार दुवै खेलाडी आज–भोलि नै पाकिस्तान फर्किने तयारीमा छन्। ‘चाहेर पनि हामीले उहाँहरूलाई खेलाउन सकेनौँ,’ खतिवडाले भने। टोलीले उनीहरूलाई दिएको अग्रिम (एड्भान्स) रकम खेलाडीहरूले फिर्ता गर्न सहमति जनाएका छन् भने उनीहरूको हवाई भाडा र व्यवस्थापन खर्च भने टोलीले नै व्यहोर्नेछ।
जनकपुरले हिजो खेलेको पहिलो खेलमा इफ्तिकार र हुनेनलाई बेञ्चमा राखेको थियो। सो खेलमा टोलीले मोइन अली, जिम्मी निसम, कुशल परेरा र हर्मित सिंहलाई प्लेइङ ११ मा मैदान उतारेको थियो।
भोलि काठमाडौँ गुर्खाजविरुद्ध आफ्नो दोस्रो खेल खेल्न लागेको जनकपुर बोल्ट्सले उनीहरूको विकल्पमा दुई नयाँ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। खतिवडाका अनुसार श्रीलङ्का र बङ्गलादेशका राष्ट्रिय टोलीका अनुभवी खेलाडीहरू भित्र्याइएको छ, जसको नाम आजै सार्वजनिक गरी आगामी म्याचदेखि मैदान उतारिनेछ।




