spot_img

कलैया अस्पतालमा राजनीतिक हस्तक्षेप बढेको सांसद साहको आरोप

spot_img
spot_img

वीरगंज,११ कार्तिक । बारा–३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले बाराको कलैयास्थित प्रादेशिक अस्पताल कलैयामा राजनीतिक प्रभावका आधारमा कर्मचारी नियुक्ति हुने गरेको आरोप लगाएका छन् । उनले अस्पताल रेफरल सेन्टरमा सीमित हुनुका साथै राजनीतिक भर्ती केन्द्रसमेत बनेको भन्दै अस्पतालको अवस्थाबारे छानबिन गर्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

बुधबार आफ्नो सचिवालयको फेसबुक पेजमार्फत भिडियो सार्वजनिक गर्दै सांसद साहले अस्पतालको सुधारका लागि पटक–पटक पहल र समन्वय गरे पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताएका हुन् ।

उनका अनुसार निर्वाचित भएपछि आफूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यसहित काम गर्दै आएका छन् । सोही क्रममा प्रादेशिक अस्पताल कलैयाको सुधारलाई प्राथमिकतामा राखेर पटक–पटक अस्पतालको निरीक्षण गर्नुका साथै मेडिकल सुपरिटेन्डेन्ट र कर्मचारीहरूसँग छलफल गरेको उनले बताए ।

अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकारका मन्त्री तथा सचिव र संघीय सरकारका मन्त्री तथा सचिवालयका सदस्यहरूसँग समेत पटक–पटक समन्वय गरिएको उनले जानकारी दिए । तर, सुधार हुनुको सट्टा अस्पतालको अवस्था झन् कमजोर बन्दै गएको उनको दाबी छ ।

सांसद साहले जिल्लाका विभिन्न ग्रामीण तथा दुर्गम क्षेत्रबाट उपचारका लागि कलैया पुग्ने बिरामीले समयमै सेवा पाउन नसकेको समस्या औंल्याए । सिम्रौनगढलगायत टाढाका क्षेत्रबाट अस्पताल पुग्दा दिउँसो १२ देखि १ बजेसम्म ओपीडीको टिकट वितरण बन्द भइसक्ने गरेको भन्दै उनले अस्पताललाई दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

अस्पतालमा चिकित्सकको अभाव भएपछि प्रदेश सरकारसँग समन्वय गरी चार चिकित्सकको दरबन्दी कायम गराइएको उनले बताए । तर, उक्त दरबन्दीमा आवश्यकताका आधारमा नभई राजनीतिक पहुँचका आधारमा नियुक्ति गरिएको उनको आरोप छ ।

अस्पतालमा १०० भन्दा बढी कर्मचारी कार्यरत रहेको बताइए पनि ७० देखि ८० जनाभन्दा बढी नियमित हाजिर नहुने गरेको सांसद साहले दाबी गरे । उनले २०७३ सालदेखि ज्यालादारीमा कर्मचारी नियुक्त गर्ने गरिएको भन्दै त्यस्ता नियुक्तिको कानुनी आधार र औचित्यमाथि प्रश्न उठाएका छन् ।

उनका अनुसार अस्पतालमा एनेस्थेसिया चिकित्सक, स्त्रीरोग विशेषज्ञ र रेडियोलोजिस्टको अभाव छ । साथै, उपलब्ध विभिन्न उपकरणसमेत प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् । अस्पताल प्रशासनले स्रोतसाधनको अभाव र करारमा कर्मचारी नियुक्त गर्ने अधिकार नभएको बताउने गरे पनि ज्यालादारीमा कर्मचारी राख्ने कार्य जारी रहेको उनले आरोप लगाए ।

‘अस्पतालमा उपचारका लागि आउने गरिब तथा विपन्न नागरिकले उचित स्वास्थ्य सेवा पाउनुपर्ने हो । तर, आफ्ना मान्छेलाई जागिर खुवाउने राजनीतिक भर्ती केन्द्र बनाइएको छ,’ सांसद साहले भिडियोमा भनेका छन् ।

उनले अस्पतालमा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको विवरण सार्वजनिक गर्न र उनीहरूको नियुक्तिको कानुनी आधारबारे छानबिन गर्न माग गरेका छन् । राजनीतिक नियुक्तिका कारण सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाइ छ ।

सांसद साहले अस्पताल सुधारका लागि जिल्ला प्रशासन कार्यालयदेखि प्रदेश सरकारसम्म पत्राचार गरिसकेको जानकारी दिँदै यस विषयमा जनताको दबाब र खबरदारी आवश्यक रहेको बताए ।

प्रादेशिक अस्पताल कलैयालाई राजनीतिक प्रभावबाट मुक्त गरी सर्वसाधारणले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने संस्थाका रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय