काठमाडौं,११ कार्तिक । सम्भावित भारी वर्षा, हिमपात तथा त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ ।
नेपाल मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान सार्वजनिक गरेपछि स्वास्थ्य निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको हो ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै विपद्को समयमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन जनशक्ति, औषधि, उपकरण तथा अन्य स्रोतसाधन तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
इकाइका प्रमुख डा. हेमन्त चन्द्र ओझाले पठाएको पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपतकालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न भनिएको छ । उक्त व्यक्तिको सम्पर्क विवरण इकाइमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि निर्देशन दिइएको छ ।
त्यस्तै, सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
विपद्का बेला स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक राख्न पनि इकाइले निर्देशन दिएको छ ।
सम्भावित विपद्बाट प्रभावित तथा घाइते नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने पत्रमा उल्लेख छ । साथै, एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।
इकाइले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन सबै प्रदेशका केन्द्रलाई निर्देशन दिएको छ । यसका लागि ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणालीमार्फत नियमित विवरण उपलब्ध गराउन भनिएको छ ।
सम्भावित प्रतिकूल मौसमका कारण स्वास्थ्य सेवामा पर्न सक्ने असर न्यूनीकरण गर्न तथा विपद्का बेला प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वतयारी र समन्वयलाई प्राथमिकता दिइएको इकाइले जनाएको छ ।




