वीरगंज,११ कार्तिक । वीरगंज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
कार्यालयका अनुसार असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो। लक्ष्यभन्दा २६ करोड ५८ लाख रुपैयाँ बढी राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।
असोज महिनामा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यस्तै, खाना पकाउने एलपीजी ग्यासको आयातबाट एक अर्ब ८० करोड रुपैयाँ, अलकत्रा (बिटुमिन) आयातबाट एक अर्ब ४० करोड रुपैयाँ तथा स्याउ र नास्पाति आयातबाट ५० करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
यद्यपि, चालु आर्थिक वर्षको असोज मसान्तसम्मको कुल राजस्व सङ्कलन भने लक्ष्यभन्दा कम छ। उक्त अवधिमा ७० अर्ब ५६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६९ अर्ब १३ करोड रुपैयाँ मात्रै सङ्कलन भएको छ।
भन्सार कार्यालयले चाडपर्वका समयमा बढेको आयात तथा व्यापारिक गतिविधिका कारण असोज महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा बढी गर्न सफल भएको जनाएको छ।




