काठमाडौं,११ कार्तिक । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न नेपाल आयल निगमले दिएको निर्देशनको स्वागत गरेको छ । महासंघले ग्यास व्यवसायीलाई निर्देशन पूर्ण रूपमा पालना गर्न र उपभोक्तालाई ग्यास खरिद गर्दा अनिवार्य रूपमा बिल लिन आग्रह गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको कदमलाई स्वागतयोग्य भनेको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले कात्तिक ९ गते सम्पूर्ण ग्यास उद्योगलाई पत्राचार गर्दै बिक्रेतामार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।
ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिल बिजक नदिएको गुनासो बढ्दै गएपछि निगमले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
महासंघका अनुसार ग्यासको कारोबारलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन यसअघि पनि निगमलाई विभिन्न सुझाव दिँदै बिल अनिवार्य गर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो ।
ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था यस क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदम हुने महासंघको ठहर छ । यसले कारोबारमा पारदर्शिता कायम गर्न र उपभोक्ताको अधिकार संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सम्पूर्ण ग्यास व्यवसायीलाई आयल निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् ।
त्यस्तै, महासंघले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल वा बीजक माग्न र लिने बानी बसाल्न अनुरोध गरेको छ । बिल लिने अभ्यासले ग्यासको कारोबारलाई व्यवस्थित बनाउन तथा उपभोक्तालाई आफ्नो खरिदको आधिकारिक प्रमाण सुरक्षित राख्न मद्दत पुग्ने महासंघको विश्वास छ ।




