काठमाडौं,१२ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिहीबार बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । तर, बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्ने भन्नेबारे अझै टुंगो लागेको छैन ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार शाह बिहानै कार्यालय पुगेका हुन् । प्रधानमन्त्री कार्यालयमा उपस्थित भए पनि मन्त्रिपरिषद् बैठकबारे कुनै औपचारिक जानकारी नआएको ती सदस्यले बताए ।
‘प्रधानमन्त्रीज्यू सिंहदरबारमै हुनुहुन्छ,’ सचिवालयका ती सदस्यले भने, ‘क्याबिनेट बस्ने नबस्ने निश्चित छैन । कुनै खबर पनि गरिएको छैन ।’ सामान्यतया साताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने प्रचलन छ । तर, यो साता भने बैठक बस्न सकेको छैन ।
यसैबीच, प्रधानमन्त्री शाहले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग लामो छलफल गरेका थिए । लामिछानेको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा सरकारका कामकारबाही र पार्टीका गतिविधिबारे छलफल भएको थियो ।
छलफलका क्रममा निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र खगेन्द्र सुनारमाथि उठेका प्रश्नलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ ।
उता, प्रहरी महानिरीक्षक कार्कीले बिहीबार दिउँसो उच्च प्रहरी अधिकारीहरूलाई प्रहरी प्रधान कार्यालयमा बोलाएका छन् । प्रहरी प्रधान कार्यालयमा हुने पीसीसी बैठकका लागि उनले सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई बोलाएको जनाइएको छ ।




