वीरगंज,१४ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली गेमिङ तथा सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि नीतिगत सुधार र कर सहुलियतको व्यवस्था गर्ने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नेपाली युवाले निर्माण गरेका गेमहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरिरहेको भन्दै यस क्षेत्रलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
उनका अनुसार नेपालीले निर्माण गरेको चर्चित ‘लुडो गेम’ झण्डै २० करोड पटक र ‘कल ब्रेक गेम’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएका छन्। यसबाहेक नेपालमा सयौँ युवा गेम तथा एप निर्माणको क्षेत्रमा सक्रिय रहेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले गेम डेभलपमेन्ट क्षेत्रमा संलग्न युवाहरूसँग छलफल गरेर उनीहरूले भोगिरहेका समस्या र उद्योग विकासका सम्भावनाबारे जानकारी लिइएको पनि बताएका छन्। उक्त क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्न आवश्यक गृहकार्य अघि बढाइएको उनको भनाइ छ।
‘सयौँ युवाहरू गेम एप बनाउन तल्लीन हुनुहुन्छ। हामीले उहाँहरूलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउन तथा उद्योगका रूपमा अघि बढाउने विषयमा पनि कुरा गर्यौँ,’ उनले लेखेका छन्।
नेपालबाटै विश्वस्तरका युनिकर्न कम्पनी स्थापना गर्न सकिने वातावरण निर्माण गर्न विद्यमान नियम, नीतिगत व्यवस्था र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने उनले बताएका छन्। गेमिङ उद्योगमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको पनि उनको भनाइ छ।
आईटी उत्पादन तथा सेवा निर्यातको क्षेत्रमा समेत नेपालमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा त्यसलाई पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारले नीतिगत सुधार, कर सहुलियत र सहज व्यावसायिक वातावरणमार्फत नेपाली गेमिङ तथा आईटी उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको उनको भनाइ छ।




