वीरगंज,१४ कार्तिक । पर्साको पोखरिया नगरपालिकामा गलत विवरणका आधारमा पूर्ण अपाङ्गताको परिचयपत्र जारी गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई कर्मचारीसहित तीन जनालाई दोषी ठहर गरेको छ।
अदालतले पोखरिया नगरपालिकाका कर्मचारी अम्बिका महतो खुलवट, अधिकृत संजयकुमार पाण्डेय र गलत परिचयपत्र लिने सेवाग्राही महेन्द्र राउत कुर्मीलाई जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
विशेष अदालतको इजलास नम्बर १ का अध्यक्ष न्यायाधीश बासुदेव आचार्य तथा सदस्य न्यायाधीशद्वय हेमन्त रावल र उमेश कोइरालाको इजलासले मुद्दा नम्बर ०८२-CR-०१७४ मा नेपाल सरकारविरुद्ध संजयकुमार पाण्डेयसमेत रहेको मुद्दामा यस्तो फैसला गरेको हो।
फैसलाअनुसार कुर्मीले २०७८ भदौ १६ गते पोखरिया नगरपालिकामा अपाङ्गता परिचयपत्रका लागि निवेदन दिएका थिए। नगरपालिकाको अपाङ्गता समन्वय समितिले २०७८ असोज ११ गतेको बैठकबाट उनलाई ‘ख’ वर्गको परिचयपत्र दिने निर्णय गरेको थियो।
तर, समितिको निर्णयविपरीत २०७८ चैत २३ गते उनलाई पूर्ण अपाङ्गता जनाउने ‘क’ वर्गको परिचयपत्र जारी गरिएको थियो। सोही परिचयपत्रका आधारमा कुर्मीले २०७९ वैशाखदेखि सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए।
विशेष अदालतले नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत कर्मचारी अम्बिका महतो खुलवटले पूर्ण अपाङ्गताको परिचयपत्र तयार पारेको र अधिकृत संजयकुमार पाण्डेयले त्यसलाई प्रमाणित गरेको ठहर गरेको छ। गलत विवरणका आधारमा परिचयपत्र तयार पारिएको पुष्टि भएपछि दुवै कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ अन्तर्गत दोषी ठहर गरिएको हो।
त्यस्तै, गलत विवरणका आधारमा परिचयपत्र प्राप्त गर्ने कुर्मीलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ को प्रतिबन्धात्मक व्यवस्थाअनुसार सजाय सुनाइएको अदालतले जनाएको छ।
तीनै जनालाई जनही १० हजार रुपैयाँ जरिवाना र तीन महिना कैदका अतिरिक्त अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम जनही ४०० रुपैयाँ क्षतिपूर्ति शुल्कसमेत तिराउन अदालतले आदेश दिएको छ।
यद्यपि, भ्रष्टाचार निवारण ऐनको दफा ११ र १७ अन्तर्गत लगाइएका आरोपबाट भने अदालतले उनीहरूलाई सफाइ दिएको छ। कुर्मीले सामाजिक सुरक्षा भत्ताबापत बुझेको रकममध्ये दुई लाख १० हजार ६८३ रुपैयाँ राजस्व व्यवस्थापन सूचना प्रणालीमार्फत फिर्ता गरिसकेको र निर्णय अभिलेखमा केरमेट गरी सच्याउने कार्य कसले गरेको हो भन्ने यकिन हुन नसकेकाले ती आरोप पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ।




