वीरगंज, १४ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा धरपकड गर्ने घटनालाई ‘राज्य आतंक’को संज्ञा दिएका छन्।
नेपाल प्रेस र नयाँ पत्रिका दैनिकलगायतका सञ्चारगृहमा प्रहरीले गरेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै उनले यो संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्घन भएको बताएका छन्।
पत्रकारलाई पक्राउ गरेर पछि रिहा गर्दैमा घटनाको गम्भीरता समाप्त नहुने उनको भनाइ छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गर्दै नेता पुनले प्रधानमन्त्री कार्यालय र सत्तारुढ दलका नेताहरूको अभिव्यक्तिको समेत आलोचना गरेका छन्।
‘प्रधानमन्त्री र सत्तारुढ दलका नेतालाई थाहै नभई यो देशको सुरक्षा निकाय कसले परिचालन गरेको छ ?’ प्रश्न गर्दै नेता पुनले कार्यकारी प्रमुखले आफ्नो मातहतका निकायको कामकारबाहीबारे ‘थाहै छैन’ भन्न नमिल्ने बताएका छन्। यस घटनाको पूर्ण जिम्मेवारी लिँदै सरकारले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र स्वतन्त्र पत्रकारिताको संवैधानिक हक सुनिश्चित गरिनुपर्ने उनको माग छ।




