काठमाडौं,१५ कार्तिक । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज कात्तिक १५ गतेदेखि सडक दस्तुर संकलन सुरु भएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले निर्धारित दरअनुसार दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको हो।
नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित दरअनुसार दस्तुर बुझाउनुपर्नेछ।
निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं भित्रिने दिशामा ६०० रुपैयाँ र बाहिरिने दिशामा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
सुरुवाती चरणमा सवारी चालकले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर संकलन गर्ने तयारीसमेत भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिएका छन्।
सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ। यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।




