spot_img

डोल्पामा सम्पर्कविहीन ६ भारतीय पर्यटकको उद्धारका लागि हेलिकप्टर परिचालनको तयारी

spot_img
spot_img

काठमाडौं,१५ कार्तिक । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ क्षेत्रमा भारी हिमपात भएपछि भ्रमणमा रहेका ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्।

शनिबार भएको अचानकको हिमपातका कारण उनीहरू बाटोमै अलपत्र परेको आशंका गरिएको छ। सम्पर्कविहीन हुने पर्यटकमध्ये प्याली कोल्ली, ममता हल्दार र जजला त्रिवेदी कुमारलगायत ६ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनाबारे जानकारी आइतबार राति जिल्ला प्रशासन कार्यालयमा पुगेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। बैठकले सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

तर, हिमाली क्षेत्रमा प्रतिकूल मौसम र सञ्चार सम्पर्कमा देखिएको समस्याका कारण पर्यटकहरूको अवस्था तथा पूर्ण विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।

भारी हिमपातका कारण पर्यटकहरू लेक वा पदमार्गमा कतै अलपत्र परेको हुन सक्ने आशंका गरिएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले आवश्यक समन्वय गरिरहेको जनाइएको छ।

हिमाली क्षेत्रमा मौसममा अचानक परिवर्तन हुँदा पदयात्रामा रहेका पर्यटक जोखिममा पर्ने गरेका छन्। डोल्पाको पछिल्लो घटनाले पर्यटकीय क्षेत्रमा मौसमको पूर्वानुमान र सुरक्षा सतर्कताको महत्त्वलाई पुनः उजागर गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय