वीरगंज,१५ कार्तिक । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।
‘वीरगंज मुख्य सडकवासी पीडित समिति’को नेतृत्वमा आइतबार माइतीघर मण्डलामा भेला भएका उनीहरूले सर्वोच्च अदालत र नेपाल सरकारसँग न्याय तथा उचित क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
वीरगञ्जबाट काठमाडौं पुगेका पीडित घरधनी राजेश सौनियार, जवाहीर प्रसाद गुप्ता, कुन्दन रौनियारलगायतले विभिन्न माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शनमा सहभागिता जनाएका थिए।
प्रदर्शनकारीहरूले त्रिभुवन राजमार्गको काठमाडौं–हेटौँडा खण्ड र वीरगंज खण्डका विषयमा सर्वोच्च अदालतबाट फरक–फरक फैसला आएको भन्दै आपत्ति जनाएका छन्। एउटै राजमार्गअन्तर्गत पर्ने क्षेत्रमा फरक मापदण्ड अपनाइएको भन्दै उनीहरूले राज्यको विभेदकारी व्यवहार अन्त्य गर्न माग गरेका छन्।
‘एउटै त्रिभुवन राजमार्गमा सर्वोच्च अदालतको फैसला फरक–फरक किन ?’ भन्दै उनीहरूले आफूहरूले दशकौँदेखि राज्यलाई नियमित कर बुझाउँदै आएको र संविधानले प्रत्याभूत गरेको समानताको हक पाउनुपर्ने बताएका थिए।
प्रदर्शनमा सहभागी घरधनीहरूले आफूसँग जग्गाको वैधानिक लालपुर्जा रहेको र लामो समयदेखि नियमानुसार कर तिर्दै आएको दाबी गरेका छन्। उचित मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध नगराई आवास र सम्पत्ति हटाउन खोजिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
उनीहरूले वीरगंजका सडक किनारका घरधनीलाई उचित न्याय र क्षतिपूर्ति उपलब्ध गराउन, संविधानप्रदत्त आवास तथा सम्पत्तिको मौलिक हक संरक्षण गर्न र वीरगंजवासीप्रति विभेदपूर्ण नीति तथा निर्णय बन्द गर्न माग गरेका छन्।
माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ र ‘नेपाल सरकार वीरगञ्जवासीलाई न्याय र क्षतिपूर्ति देऊ’ लगायतका नारा लगाएका थिए।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै उनीहरूले नागरिकको सम्पत्ति र आवासको अधिकार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।




