spot_img

फेटा घटनामा दोषीलाई कानुनी कठघरामा उभ्याउनैपर्छ

spot_img
spot_img

संघीय सरकारको लगानीमा निर्माण गरिएको एउटा अति आवश्यक स्वास्थ्य केन्द्रको उद्घाटन जनताको जीवन बचाउनका लागि हुनुपर्ने हो। तर, दुर्भाग्यवश बाराको फेटा गाउँपालिका–३ मा स्वास्थ्य केन्द्र उद्घाटनको कार्यक्रम रक्ताम्य बन्न पुग्यो। गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले शिलालेख तोडफोड गरेपछि सुरु भएको विवादले अन्ततः उग्र रूप लियो र स्थिति नियन्त्रण बाहिर जाँदा प्रहरीको गोली लागेर युवा आदित्य पासवान गम्भीर घाइते हुन पुगे। यो घटनाले फेरि एकपटक मधेशको सुरक्षा व्यवस्था, राजनीतिक संस्कार र प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।

लोकतान्त्रिक व्यवस्थामा फरक मत राख्ने, विरोध गर्ने, शान्तिपूर्ण प्रदर्शन गर्ने वा धर्ना दिने अधिकार नागरिकलाई संविधानले नै दिएको छ। तर, यस्ता विषयहरूमा आपराधिक मनोवृत्तिका घुसपैठियाहरू प्रवेश गरेपछि स्थिति कसरी कायरतापूर्ण द्वन्द्वमा परिणत हुन्छ भन्ने फेटाको घटना ज्वलंत उदाहरण हो। यस झडपमा एमाले र रास्वपाका कार्यकर्ताहरू समेत जोडिएको कुरा बाहिर आएको छ। दुई राजनीतिक दलका युवाहरूलाई भिडाएर आफ्नो राजनीतिक रोटी पक्झाउन खोज्नेहरू को–को थिए ? तिनको गम्भीर पहिचान गरी कानुनी कठघरामा उभ्याउनै पर्छ।

तर, यहाँ सबैभन्दा ठूलो प्रश्न सुरक्षा निकाय र प्रशासनमाथि तेर्सिएको छ। सामान्य बल प्रयोग वा अश्रुग्यासबाटै नियन्त्रणमा लिन सकिने भनिएको स्थितिलाई साम्य पार्न प्रहरी किन चुके ? आखिर मधेशमा हुने हरेक जसो विरोध वा झडपका बेला प्रहरीको गोली सीधै नागरिकको शरीरमै किन बज्रन्छ ? के यहाँ शान्ति सुरक्षा कायम गर्ने संयन्त्रसँग संयमको सधैँ अभाव नै हुन्छ ? यी प्रश्नहरू अझै पनि अनुत्तरित छन्। एसएसपी प्रभुप्रसाद ढकालको नेतृत्वमा गठित छानबिन समितिले केवल औपचारिकता पूरा गर्ने होइन, घटना किन उग्र बन्यो, गोली हान्ने आदेश कसले र कसको उक्साहटमा दियो भन्ने कुरा दूधको दूध पानीको पानी छुट्याएर सार्वजनिक गर्नुपर्छ।

अझ गम्भीर विषय त यो छ कि सामाजिक सञ्जालमा घाइते आदित्य पासवान बारे भ्रामक र सनसनीपूर्ण अफबाहहरू फैलाइएका छन्। यस किसिमका दुष्प्रचारले समाजमा थप द्वन्द्व र तनाव निम्त्याउन सक्छ। त्यसैले राज्यले गम्भीर घाइते पासवानको वास्तविक स्वास्थ्य अवस्थाबारे जनतालाई आधिकारिक र सत्य सूचना तुरुन्त दिनुपर्छ। साथै, उनको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्दै निःशुल्क र प्रभावकारी उपचारको सुनिश्चितता गरोस्।

अस्पताल, विद्यालय र विकास निर्माणका पूर्वाधारहरू साझा सम्पत्ति हुन्। यसलाई राजनीतिक आडमा भिडन्तको मैदान बनाउने परिपाटीको अब अन्त्य हुनैपर्छ। फेटा घटनाले दिएको पीडा र पाठबाट पाठ सिकेर सरकारले दोषीहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याओस् र भविष्यमा यस्ता अमानवीय घटना फेरि दोहोरिन नदिने दृढ सङ्कल्प देखाओस्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय