नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको पहिलो खेलमा काठमाडौँ गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको सम्मानजनक योगफल तयार पारेको छ।
यससँगै काठमाडौँ गुर्खाजले जितका लागि १८१ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली याक्सका लागि आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ४४ रन जोडे।
त्यस्तै, हुसेन तलतले ३० बलमा ४० रन तथा पवन सराफले २३ बलमा ३० रन बनाएर अविजित रहे। यसैगरी गुुल्सन झाले १२ बलमा २० रन र मार्क वाटले १९ बलमा १७ रनको योगदान दिए। ओपनर जिशान आलम ७ रन र दीपक डुम्रे ८ रन बनाएर आउट भएका थिए।
काठमाडौँ गुर्खाजका लागि बलिङतर्फ करण केसीले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक २ विकेट लिए। त्यसैगरी साहब आलम, जहानादाद खान, देव शाह र सन्तोष यादवले १–१ विकेट हात पारे। रिपोन मोन्डोलले ३ ओभरमा ३९ रन खर्चे पनि कुनै विकेट लिन सकेनन्।
अष्ट्रेलियन ब्याटर डेभिड वार्नर काठमाडौँ गुर्खाज टिमबाट एनपीएल खेल्दै छन्। उनी यस संस्करणको एनपीएलमा काठमाडौँ गुर्खाजका मुख्य विदेशी खेलाडीका रूपमा आबद्ध भएका हुन्।




