spot_img

अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै विपक्षी दलहरूद्वारा तत्काल संसद् अधिवेशन आह्वानको माग

spot_img
spot_img

वीरगंज, १६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद्लाई पन्छाएर अध्यादेशबाट शासन गर्ने सरकारी शैलीले संसद्कै औचित्यमाथि प्रश्न उठाएको निष्कर्ष निकाल्दै अविलम्ब संसद् अधिवेशन बोलाउन सरकारसँग माग गर्ने औपचारिक निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको कप्तानगञ्ज घटना, गृहमन्त्रीको सम्पत्ति विवरण प्रतिवेदन सार्वजनिक नगरिनु र सरकारको अध्यादेशी शैलीबारे गहन छलफल भएको जानकारी दिए। त्यसैगरी, नेकपाका नेता प्रमेश हमालले पनि संसद्को अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूबीच पूर्ण सहमति बनेको बताए।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त र प्रमुख सचेतक वासना थापा सहभागी थिए। त्यस्तै, नेकपा एमालेका तर्फबाट संसदीय दलकी उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलालको उपस्थिति थियो।

यसैगरी, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीसमेत बैठकमा सहभागी भई सरकारविरुद्ध साझा रणनीति तय गर्न ऐक्यबद्धता जनाएका छन्।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय