वीरगंज, १६ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले सानदार प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न रोमाञ्चक खेलमा काठमाडौँले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो। कर्णालीको भने यो पहिलो हार हो।टस हारेर पहिले ब्याटिङको निम्तो पाउँदै कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनको योगाफल तयार पारेको थियो।
कर्णालीका लागि आरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४४ रन जोडे। त्यस्तै, हुसैन तलतले ४० रन बनाए भने पवन सराफ २३ बलमा ३० रन बनाएर नटआउट रहे। अन्त्यतिर क्रिजमा आएका गुलशन झाले ११ बलमा २० रनको आक्रामक पारी खेले।
काठमाडौँका लागि करण केसीले २ विकेट लिए भने शाहब आलम, देव शाह, सन्तोष यादव र जहानदाद खानले १–१ विकेट हात पारे। १८१ रनको कडा लक्ष्य पछ्याउँदै मैदान उत्रिएको काठमाडौँ गुर्खाजले १९।४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
काठमाडौँको जितमा राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ चौका र २ छक्कासहित ५० रनको अर्धशतकीय पारी खेले। त्यस्तै, करण केसीले मात्र २० बलमा ४ चौका र ३ छक्कासहित ४४ रनको विस्फोटक योगदान दिए। यसैगरी जहानदाद खानले १० बलमा अविजित २२ रन, आदिल आलमले २० रन र स्टार ब्याटर डेभिड वार्नरले १६ रन बनाए।
कर्णालीका लागि बलिङतर्फ सोमपाल कामी र हुसैन तलतले २–२ विकेट लिए भने नन्दन यादव र मार्क वाटले १–१ विकेट लिए ।




