काठमाडौं,१६ कार्तिक । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा उनको नेपाल भ्रमण हुन लागेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ।
वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विभिन्न विषयमा छलफल तथा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।
त्यस्तै, दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ। दुईदिने भ्रमण सम्पन्न गरी मिश्री बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।




