वीरगञ्ज । पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका १० लाख ५१ हजार ४२४ रुपैयाँ मूल्यका औषधि, लत्ताकपडा तथा पशुचौपाया बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज–२५ खाल्वाबाट २ लाख ३१ हजार ६०४ रुपैयाँका औषधि तथा वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट ५ लाख ५९ हजार ८२० रुपैयाँका लत्ताकपडा बरामद गरिएको हो ।
त्यस्तै, सोही स्थानबाट २ लाख ५० हजार रुपैयाँको भैँसी र १० हजार रुपैयाँको खसीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामान तथा पशुचौपाया आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।




