काठमाडौं,१७ कार्तिक । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारत दुवैसँग नेपालको सम्बन्ध समान, सुमधुर र सन्तुलित हुनुपर्ने बताएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आलोचना गर्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले चीन र भारतसँगको सम्बन्धका विषयमा सरकारले कुनै पनि प्रकारको हेलचेक्र्याइँ, गैरजिम्मेवारी र हीनताबोध प्रदर्शन गर्न नहुने बताए।
उनले सरकारको नेतृत्व गरिरहेकाहरूले कुनै दिन चीन पुगेर ‘चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको आधार हो भन्ने युगको अन्त्य भयो’ भन्ने हुन् कि भन्ने चिन्तासमेत व्यक्त गरे।
नेपालले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
श्रेष्ठले वर्तमान सरकारले नेपालको स्वतन्त्र र असल परराष्ट्र नीतिलाई निरन्तरता दिनुपर्ने भए पनि व्यवहारमा त्यसअनुसार अघि बढेको नदेखिएको टिप्पणी गरे। नेपालको राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा नै परराष्ट्र नीतिको प्रमुख आधार हुनुपर्ने उनको भनाइ थियो।




