spot_img

अमेरिकामा हजारौँ मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास सर्वोच्च अदालतद्वारा अस्वीकार

spot_img
spot_img

काठमाडाैं,१७ कार्तिक । अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रयास अस्वीकार गरेको छ।

सङ्घीय सरकारले गैरनागरिक भएको दाबी गरेका मतदातासँग सम्बन्धित विवादमा सोमबार सर्वोच्च अदालतले हस्तक्षेप गर्न अस्वीकार गरेको हो। मध्यावधि निर्वाचनको मतदानको अन्तिम दिन नजिकिँदै गर्दा आएको यो निर्णय ट्रम्प प्रशासनका लागि अर्को कानुनी धक्काका रूपमा हेरिएको छ।

ट्रम्प नेतृत्वको रिपब्लिकन प्रशासनले क्यालिफोर्नियाको मतदाता सूचीमा सम्भावित गैरनागरिकका रूपमा करिब २० हजार व्यक्तिको पहिचान गरेको थियो। ती व्यक्तिसँग सम्बन्धित मतपत्र अलग राख्न प्रशासनले माग गरेको थियो।

तर, क्यालिफोर्नियाका अधिकारीहरूले उक्त सूचीमा त्रुटि रहेको भन्दै प्रशासनको मागको विरोध गरेका थिए। उनीहरूका अनुसार मतपत्र अलग राख्दा कानुनी रूपमा मतदान गर्न योग्य नागरिकसमेत आफ्नो मताधिकारबाट वञ्चित हुन सक्ने जोखिम थियो। सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले निर्णयप्रति सार्वजनिक रूपमा असहमति जनाएनन्।

यसअघि तल्लो अदालतहरूले पनि प्रशासनको माग अस्वीकार गरिसकेका थिए। क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाका अनुसार जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म प्रशासनको प्रयास चार पटक असफल भएको छ।

अमेरिकामा गैरनागरिकले मतदान गर्ने घटना दुर्लभ मानिए पनि ट्रम्प प्रशासनले यस वर्ष त्यस्ता मतदाताको पहिचानलाई प्राथमिकतामा राख्दै आएको छ। यस क्रममा न्याय मन्त्रालयले तयार पारेको तथ्याङ्कको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ।

सङ्घीय अभियोजक बिल एसेलीले सूचीमा रहेका व्यक्तिहरू मतदानका लागि अयोग्य रहेको दाबी गरे पनि सूचीमा त्रुटि हुन सक्ने सम्भावना स्वीकार गरेका थिए।

यसैबीच, सङ्घीय जिल्ला अदालतकी न्यायाधीश ट्रिना थम्पसनले गैरनागरिकको सूचीसँग सम्बन्धित आपराधिक अनुसन्धान वा अभियोजन अघि बढाउनुअघि सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने आदेश विस्तार गरेकी छन्। मुख्य न्यायाधीश जेम्स बोसबर्गले पनि प्रशासनका निर्वाचनसम्बन्धी कदमले अमेरिकी संविधान उल्लङ्घन गरेको हुन सक्ने टिप्पणी गरेका थिए।

क्यालिफोर्नियामा अक्टोबरको सुरुदेखि नै मतदान भइरहेको छ। एसोसिएटेड प्रेसका अनुसार राज्यका करिब दुई करोड ३० लाख दर्ता भएका मतदातालाई मतपत्र पठाइएकामा ६० लाखभन्दा बढी मतपत्र फिर्ता भइसकेका छन्।

निर्वाचन अधिकारीहरूले ठूलो सङ्ख्यामा पठाइएका मतपत्रमध्ये विवादित मतपत्र पहिचान गरेर अलग राख्न अब व्यावहारिक रूपमा असम्भव हुने बताएका छन्। जिल्ला अदालतले पनि त्यसो गर्दा निर्वाचन प्रक्रियामा गम्भीर अव्यवस्था उत्पन्न हुन सक्ने चेतावनी दिएको थियो।

यसअघि पुनरावेदन अदालतले समेत दुई–एक मतले तल्लो अदालतको निर्णयलाई समर्थन गर्दै क्यालिफोर्नियाको पक्षमा फैसला गरेको थियो। त्यस्तै, सर्वोच्च अदालतले गत सेप्टेम्बरमा हुलाकमार्फत मतदान गर्ने व्यवस्थामा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको अर्को प्रयास पनि अस्वीकार गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय