spot_img

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं,१७ कार्तिक । इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकको मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए। उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे। एनपीएल इतिहासमा एउटै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।

ओपनर शेहान जयसूर्या टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको महत्वपूर्ण साझेदारी गरे। जारी सिजनमा यो पहिलो शतकीय साझेदारीसमेत हो।

त्यस्तै, आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले अविजित ५२ रन बनाए। उनले २९ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे। शुभम रञ्जाने ७ रनमा अविजित रहे।

बलिङतर्फ जनकपुर बोल्ट्सका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए। अब जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्नेछ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय